काठमाडौ, फाल्गुन ३० - प्रधानसेनापति गौरवशमशेर जबरा र भारतीय सेनाध्यक्ष जनरल विक्रम सिंहले एकीकृत सैनिक तालिम केन्द्र रुपन्देहीको सालझण्डीमा संचालन भईरहेको नेपाली सेना तथा भारतीय सेनाको संयुक्त सैनिक अभ्यास 'सूर्यकिरण-६' निरीक्षण तथा अवलोकन गरेका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उनीहरुलाई सैनिक विनय महानिर्देशक उपरथी भिक्टर जबराले शुक्रबार अभ्यासको बारेमा बिस्तृत जानकारी गराए ।
विभिन्न युद्धकला सम्बन्धी कार्यहरुको प्रदर्शनी अवलोकनपछि बोल्दै भारतीय सेनाध्यक्षले अभ्यासको उच्च प्रशंसा गरेका थिए । उनले अभ्यासमा सहभागी आफ्नो फौजका सबैलाई नेपाली सेनाको व्यवसायिकता, निष्ठा र उच्च दक्षताबाट धेरै कुराहरु सिक्न सक्ने बताएको निर्देशनालयले जनाएको छ । प्रधानसेनापति जबराले विश्वकै तेस्रो ठूलो स्थलसेनासंग गण तहको संयुक्त सैनिक अभ्यास गर्ने अवसर पाएको र यसबाट थप व्यवहारिक अनुभव र सिप सिक्दै नेपाली सेनाले पनि आफ्नो पेशागत क्षमता अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस किसिमको यसअघि भारतमा मार्च २०११, जुन २०१२ र सेप्टम्बर-अक्टोबर २०१३ गरी ३ पटकसम्म संचालन भईसकेको छ । यसैगरी, नेपालमा डिसेम्बर २०११ र डिसेम्बर २०१२ गरी २ पटक संचालन भईसकेको निर्देशनालयले जनाएको छ । फागुन २१ देखि संचालन भईरहेको अभ्यास छैठौं संस्करणमा नेपाली सेनाका २०० जना र भारतीय सेनाका २५० गरी ४५० सैनिक सहभागी छन् । अभ्यास हेर्नकै लागि बिहीबार आएका सिंह शुक्रबार दिउँसो विशेष विमानद्धारा स्वदेश फर्केका छन् । बिहीबार उनले राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासंग शिष्टाचार भेट गरेका थिए । कान्तिपुर
No comments:
Post a Comment