दोहा (कतार) , असार ८ - इराकको हिंसाग्रस्त क्षेत्र टिक्रिटमा ११ दिनदेखि फसेका तीन नेपाली कामदारको उद्धारमा कठिनाइ भएको छ । उनीहरू काम गर्ने सरकारी भवनमा विद्रोहीहरूले गरेको आक्रमणमा उनीहरूको राहदानी समेत जलेकाले उद्धारमा कठिनाइ भएको हो । टिक्रिट इराकी पूर्वशासक सद्दाम हुसेनको जन्मस्थान हो ।
राजधानी बग्दादबाट १ सय ४० किलोमिटर उत्तरस्थित टिक्रिटमा कानेपोखरी-९, मोरङका ३८ वर्षीय मोहनकुमार बस्नेत, दमक-१३, झापाका ३८ वषर्ीय प्रेस गिरी र घोराही ठाकुर-९ का टोपबहादुर बस्नेत फसेका छन् । काम गर्ने घर ध्वस्त भएपछि इराकीले छाडेर गएको घरमा उनीहरू शरण लिएर बसिरहेका छन् । 'काम गर्ने सरकारी भवन विद्रोहीले ध्वस्त पारिदिएको छ । साथमा राहदानी छैन,' गिरीले कान्तिपुरलाई फोन सम्पर्कमा भने, 'सरकारले चाँडै उद्धार गर्ला भन्ने आशामा छौं ।' उनीहरूले परिवारलाई चिन्ता नगर्न पनि भनेका छन् ।
इराक हेर्ने जिम्मेवारी पाएको पाकिस्तानको इस्लामवादस्थित नेपाली दूतावासले भने पीडित नेपालीलाई तत्काल उद्धार गर्न कठिन रहेको जनाएको छ । 'त्यस क्षेत्रमा सरकारी उपस्थिति छैन,' राजदूत भरतराज पौड्यालले कान्तिपुरलाई भने, 'हामी कसरी सुरक्षित रूपमा उद्धार गर्न सक्छौं भनेर विभिन्न बाटो पत्ता लगाउन खोजिरहेका छौं ।'
बग्दादका हाउसमेड फर्कन चाहन्छन् कानेपोखरी, मोरङकी फदिमा खिमकुमारी जोगी ९ महिनादेखि इराकको राजधानी बग्दादबाट दुई घन्टा टाढा नरमनियामा घरेलु सहायकको काम गर्दै आइरहेकी छन् ।
दिल्ली हुँदै बग्दाद आइपुगेकी खिमकुमारी दुई सातादेखि तनावमा छिन् । 'म बसेको घर नजिकैको स्कुल बमले उडाइदिएपछि डर लागेको छ,' उनले कान्तिपुरलाई भनिन्, 'छिटोभन्दा छिटो आफ्नो मुलुक फिर्न चाहन्छु ।'
जोगीले घर मालिकलाई घर पठाइदिन आग्रह गरेकी छन् । 'मालिकलाई घर पठाइदेऊ भनेर दिनहुँ भन्छु,' उनले भनिन्, 'तर, उनीहरू आत्तिनु पर्दैन । केही हुँदैन भनिरहेका छन् ।'
दलाललाई ९० हजार रुपैयाँ बुझाएर आएकी जोगीले मासिक ३ सय ५० अमेरिकी डलर तलब पाउने गरेकी छन् । 'साहूसाहूनीले नपठाएसम्म आउन पाउँदिनँ,' उनले भनिन्, 'पासपोर्ट पनि उनीहरूले नै राखेका छन् ।'
सिन्धुपाल्चोककी सुजन्ती लामाले सरकारले उद्धार गरे मात्रै आफूहरू देश फिर्न सक्ने बताइन् । सत्र महिनादेखि राजधानी बग्दादस्थित अलिसालीमा बस्दै आएकी उनले आफू बसेको ठाउँमा नियमितजसो बमहरू पड्किने बताइन् । 'सुत्न पनि डर लाग्छ', उनले भनिन्, 'बाहिर के भइरहेको छ, केही थाहा छैन ।' लामाले मालिकलाई घर पठाइदिन आग्रह गरे पनि उसले 'आठ हजार अमेरिकी डलर खर्च गरेर ल्याएको' भनेर पठाउन नमानेको उनले बताइन् ।
बग्दादमै रहेकी दोलखाकी स्मिता थापा पनि चाँडै स्वदेश फिर्न पाउनेमा विश्वस्त छैनन् । 'बाहिर के भएको छ हामीलाई थाहै हुँदैन । घरभित्र मात्रै बस्ने हुनाले त्यति असुरक्षाचाहिँ महसुस भएको छैन,' एक वर्षदेखि कार्यरत उनले भनिन्, 'साथीहरू घर फिर्न पाए हुन्थ्यो भन्छन्, तर हामीलाई मालिकले सजिलै पठाउँदैनन् ।' उनले साथीहरूसँग फोनमा मात्र कहिलेकाहीं कुरा हुने बताइन् ।
उनीसँग २२ जना घरेलु कामदार सम्पर्कमा छन् । उनका अनुसार कतिपय महिलाहरूसँग साथमा राहदानी नभएर पनि समस्या परेको छ ।
'सिन्धुपाल्चोककी चित्रमाया तामाङ राहदानी नभएर घर फिर्न पाएकी छैनन् । उनले धुव्र भन्ने एक जना नेपालीलाई १ लाख ५० हजार रुपैयाँ दिएकी थिइन् तर पासपोर्ट पाइनन्,' उनले भनिन्, 'केही दिनदेखि ती दिदी सम्पर्कमा छैनन् ।'
जलबिरे, सिन्धुपाल्चोककी लीला लामाले उच्च सरकारी अधिकृतको घरमा काम गर्ने हुँदा धेरै डर नलगेको बताइन् । 'घरमा पूरै सुरक्षाकर्मी छन् । बाहिर जानुपर्दैन,' उनले भनिन्, 'सुरक्षा स्थिति बिगि्रयो भने नेपाल पठाइदिन्छु भनेको छ ।'
बग्दादको करदामा डोल्मा शेर्पा दुई वर्षदेखि कार्यरत छिन् । उनलाई नेपालबाट आफन्तले स्वदेश फिर्न अनुरोध गरे पनि तुरुन्तै सम्भव नहुने बताइन् । गैरआवासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले हाउसमेड महिलालाई उद्धार गर्न कठिनाइ रहेको
बताए । 'कम्पनीमा काम गर्नेहरूको जिम्मा कम्पनीले लिन्छ,' गुरुङले भने, 'घर मालिक आफैंले नपठाएसम्म हाउसमेडलाई चाहिँ अरूले उद्धार गर्न जटिल छ ।'
इराक हेर्ने जिम्मेवारी पाएको पाकिस्तानस्थित नेपाली राजदूत पौड्यालले हाउसमेडलाई पनि उद्धार गरिने बताए । 'हाउसमेड बस्ने लोकेसन पत्ता लगाउन कठिन भएको छ,' उनले कान्तिपुरलाई भने, 'हाम्रो संयन्त्र प्रयोग गरेर उद्धार गर्नेछौं ।' सरकारले इराक जान प्रतिबन्ध लगाएको हुँदा त्यहाँ कति नेपाली छन् भन्ने यकिन छैन ।
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
थप भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
'' Download |
No comments:
Post a Comment