काठमाडौं, चैत्र १७ - ललितपुर जिल्ला अदालतले नेटवर्क व्यापारमार्फत लाखौंलाई ठगेको ठहर गर्दै युनिटी सञ्चालकहरूलाई सजाय गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमबार सुनाएको फैसलाअनुसार अध्यक्ष काशीनाथ गुरुङसहितका १२ सञ्चालकलाई जनही १ करोड ६ लाख २६ हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने भएको छ । सजाय पाउने सञ्चालकहरूमा नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु छेत्री, कृष्ण छेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर टन्डन, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवाली छन् ।
उनीहरूले आठ वर्षअघि कम्पनी खोलेर करिब ३ लाख ६६ हजार ३ सय ४२ व्यक्तिबाट ३ अर्ब ७९ करोड ८ लाख रुपैयाँ ठगी गरेको फैसलामा उल्लेख छ ।
स्वीकृति नै नलिई दुर्घटना बिमा, स्वास्थ्य बिमालगायत योजनाबाट सर्वसाधारणसँग उठाएको रकम सञ्चालकहरूले आफूखुसी व्यक्तिगत खातामा राख्ने गरेको भन्दै युनिटीकै ४ हजार १ सय ४४ जनाले जाहेरी दिएका थिए ।
असुलउपर हुने १२ करोड ७५ लाख १५ हजार रुपैयाँबाटै जाहेरवाला ४ हजार १ सय ४४ जनाले आ-आफ्नो मागदाबीअनुसार रकम पाउने छन् । जाहेरी दिन नआएका बाँकी ३ लाख ६४ हजार सेयर सदस्यका हकमा 'आफ्नो प्रमाण पेस गरी सेयर रकम फिर्ता माग्न आएमा देवानी दायित्वका रूपमा कानुनबमोजिम फिर्ता पाउने' फैसला भएको छ । यस्तो रकम फिर्ताका लागि अब उनीहरूले छुट्टै मुद्दा गरिरहनुपर्ने छैन ।
कुल १ सय १२ लाई प्रतिवादी बनाइएको उक्त मुद्दाको सुरुवाती सुनुवाइपछि अदालतले पुर्पक्षको आदेश गर्दै सञ्चालकहरूलाई थुनामा राख्न भनेको थियो । तीमध्ये गुरुङलगायत २३ प्रतिवादीहरू चार वर्षदेखि थुनामा थिए । ८१ जना फरार थिए भने ८ जना तारेखमा थिए ।
थुनामा परे पनि सफाइ पाउने १७ लाई जनही १ लाखका दरले क्षतिपूर्ति दिने अदालतले फैसला गरेको छ । यसरी क्षतिपूर्ति पाउनेहरूमा नारायण सिवाकोटी, गोविन्द कोइराला, कुमार डंगोल, नेत्रकुमार राई, ढाकबहादुर पराजुली, गुणप्रसाद भण्डारी, भानुभक्त कँडेल, रामप्रसाद घिमिरे, मञ्जु श्रेष्ठ, पि्रन्स सन्तोष शाह, रतनकाजी, धनकुमार गुरुङ, नारायणप्रसाद सापकोटा, तुलसीप्रसाद अधिकारी, जहरमान घिसिङ, हरिहर पौडेल र गणेशध्वज खाती छन् ।
कान्तिपुर
सम्बन्धित ऐन, कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा उल्लेखित उद्देश्यभन्दा बाहिर गएर काम गरेको, उक्त तथ्य प्रतिवादीहरूबाट अदालतमा स्वीकार हुँदा युनिटीका सञ्चालकहरूलाई दोषी करार गरिएको फैसलाको निर्णयाधार (कुनै पनि फैसला गर्दा अदालतले कारणमा देखाउने कुरा) मा उल्लेख छ ।
सञ्चालकहरूले सदस्यबाट उठाएको पैसा व्यक्तिगत रूपमा खर्च गरेको देखिएको छ । कम्पनीको रकमबाटै सञ्चालकहरूले व्यक्तिगत नाममा अचल सम्पत्ति किनेका थिए । उनीहरूले स्वास्थ्य बिमा, बैंकिङ, पर्यटन, नेटवर्किङ, सेयर, बायो इनर्जी, अस्पताललगायत ४४ योजनाहरू देखाएर उठाएको अबौर्ंमध्ये विभिन्न ६९ व्यक्ति/निकायमा गरी ३ अर्ब १८ करोड ८४ लाख लगानी गरेका थिए । १३ ठाउँका जग्गा र भवनमा गरी १ अर्ब १५ करोड ५० लाख रुपैयाँ लगाएका थिए ।
युनिटीका नाममा विभिन्न बैंकमा ४१ करोड २८ लाख रुपैयाँ मौज्दात छ । अदालतको आदेशमा युनिटी, यसका ३७ भगिनी संस्था र सञ्चालकहरूका नाममा भएका सबै कारोबार तथा खातापाता रोक्का राखिएको थियो ।
युनिटी सञ्चालकहरूविरुद्ध पुनरावेदन पाटनमा बैंकिङ कसुरको अर्को मुद्दा विचाराधीन नै छ ।
अर्बाैं रुपैयाँ भएको युनिटीको सम्पत्ति, यसको कानुनी हैसियतबारे पुनरावेदनमा चलिरहेको मुद्दामा निरोपण हुने भएकाले यसबारे अहिल्यै केही गर्न नपर्ने जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
No comments:
Post a Comment